नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।ओली निवास बालकोटमा बसेको बैठक बिना कुनै निष्कर्ष टुंगिएको हो ।
दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बैठक निरन्तर निष्कर्षविहीन हुँदै आएको छ ।बैठकमा नेपाली काँग्रेसका नेताहरूले एमसीसी पास गराउन साथ दिन एमालेसँग आग्रह गरेका थिए ।
जवाफमा नेकपा एमालेका नेताहरूले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदलाई प्रतिनिधिसभाबाट नहटाइएसम्म अर्को विषयमा कुरा गर्न नसकिने अडान यथावत् राखेको एमाले महासचिव शंकर पोखरेलले बताए ।
गठबन्धनमै एमसीसीमा एक राय नभएको अवस्थामा प्रतिपक्षीले यस विषयमा बोल्नुपर्ने बाध्यता नभएको पनि पोखरेलले स्पष्ट पारे । शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।