प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथा खबर डट कमलाई कालोसूचीमा राखिएको छ ।
काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठवटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चारवटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् ।
त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए ।
एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासासमेत आएको थियो ।
