मोटरसाईकल दुर्घटनामा घाईते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ।
शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो।
नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।
दुर्घटनामा घाईते वडा अध्यक्ष कार्कीलाई ९ गते हेलिकप्टरमार्फत काठमाडौं उपचारका लागि लगिएको थियो। टाउकोमा चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि अपरेशन गरिएको थियो।
मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए।
मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए।