रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् ।
युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा शत्रु ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ ।
युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।
बीबीसी संवाददाताहरूका अनुसार ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ ।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ । ‘गैरसैनिक स्थलहरूमा आक्रमण नगरेको रुसीहरूले दाबी गरेका छन् । तर गत २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको छ’, भेडिम देनिसेन्कोले समाचारसंस्था रोयटर्ससँग भने ।
रुसले ४५० सुरक्षाकर्मी गुमाएको छः यूकेका रक्षामन्त्री
यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन् ।
‘युक्रेनले प्रतिकार गरेका कारण रुस विफल भएको छ’, रेडिओ फोरसँग कुरा गर्दै बेन वोलिसले भने ।
युक्रेनले घातक अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरे । रुसी सशस्त्र फौजले करिब ४५० जना सदस्य गुमाएको छ । किएभदेखि केही पर उत्तरमा रहेको विमानस्थल कब्जामा लिन पनि उसको विशेष फौज विफल भएको छ ।