प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन् ।
बिहीबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवाले बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गरेका हुन् ।
छलफलमा एमसीसी पास गर्नेबारे छलफल भइरहेको बुझिएको छ । एमसीसी पास गर्न सत्तारुढ दल माओवादी, नेकपा एसले साथ नदिएपछि प्रधानमन्त्री देउवा एमालेसँग नजिकिएका छन् । उनी सत्ता गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्ने मनस्थितिमा देखिएका छन् ।
तर, एमालेले एमसीसी पास गर्न सत्ता गठबन्धन टुट्नुपर्ने, सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि देउवा समस्यामा परेका छन् । एमसीसी पास गर्नका लागि देउवाले एमालेसँग छलफल गरेका हुन् ।
छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । कांग्रेस महामन्त्री गगन थापा सहभागी बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल उपस्थित छन् ।
प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित भएपछि भएको उक्त छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विवाद
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
तर, एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।