अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशाेरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ। १७ वर्षिया किशाेरीलाई पलले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षको आरोप छ।
स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशाेरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए। तर, अडियो नै सार्वजनिक भएपछि भने बुधबार किशाेरीले पलविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा उजुरी दर्ता गराएकी हुन्।
तनहुँ प्रहरीले भने अहिलेसम्म जाहेरीबारे औपचारिक जानकारी दिएको छैन। ‘उजुरी आएको छ। हामीले कानुनी प्रक्रिया अघि बढाएका छौं। अहिलेलाई थप केही नभनौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो।
के भन्छ कानुनले?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।