नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेको निर्णयमाथि विभिन्न शाखाहरुले असहमति जनाएका छन् । पुस ३० मा तिलौराकोटमा सम्पन्न बैठकले गरेका निर्णयपछि शाखाहरुलाई पठाइएको परिपत्रमाथि प्रदेश, एसोसिएट, उपत्यका, प्रतिष्ठान शाखाले असहमति जनाएको हो ।
प्रदेश नं. १, मधेश, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट शाखाले सयूक्त विज्ञप्ति जारी गरेका हुन्। शाखा अध्यक्षहरूले एक विज्ञप्ति जारी गर्दै महासंघ केन्द्रीय समितिबाट प्राप्त परिपत्रप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघको बैठकले संघीयताको मर्म र भावना विपरीत प्रदेश समितिहरुलाई कमजोर अनाउने गरी विधान विपरीत निर्णय गरेकोमा प्रदेश शाखाहरुको असहमति रहेको हो ।
सम्बन्धित प्रदेश तथा जिल्ला शाखासँग समन्वय गर्नका लागि सम्बन्धित प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये धेरै मत ल्याउने संयोजक र अर्का केन्द्रीय सदस्य उपसंयोजक रहने गरी प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णयप्रति असहमति रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘त्यस्तै निर्णय नम्बर १० प्रति पनि हाम्रो समर्थन नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्ने अधिकार विधानले शाखाहरुलाई प्रदान गरेको छ। विधानको ५.१ (क)महासंघको सदस्यता लिन चाहने पत्रकारले आवश्यक कागजपत्र आफू क्रियाशील रहेको शाखामा दिनुपर्नृेहुन्छ । सदस्यता स्वीकृत गरी प्रदेश समितिमा पठाउनुपर्ने हुन्छ ।
तर विधानको स्पष्ट व्यवस्था विपरीत केन्द्रीय समितिले निर्णय गरेकोमा तत्काल संशोधनकोसमेत माग गरिएको छ।
