विश्व ब्याडमिन्टनको जुनियर वरियतामा विश्व नम्बर एक युवा स्टार प्रिन्स दाहालले लगातार दोस्रो पटक पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि जितेका छन् ।
रिभाइभको प्रतिनिधित्व गरेका प्रिन्सले आइतबार सम्पन्न लिनिङ ११ औं पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ उपाधि जितेका हुन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष एकल उच्च १६ वरियता प्राप्तमा विश्व वरियतामा प्रिन्सले नेपाली सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स १०औं संस्करणका विजेता समेत हुन् ।
लगातार दोस्रो पटक उपाधि जित्दा प्रिन्सले खुशी व्यक्त गर्दै उपाधि रक्षा गर्नु सहज काम नभएको बताए । प्रिन्स दाहालले सेमिफाइनलमा राष्ट्रिय च्याम्पियन एपीएफका दीपेश धामी माथि १४–२१, २१–१४, २१–१७ ले जित निकालेका थिए । यस्तै नविनले फाइनल प्रवेश गर्नेक्रममा सेनाकै प्रफुल महर्जनमाथि १४–२१, २१–१७, २१–१६ ले जित निकालेका थिए ।
बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।