आईसीसी टी २० विश्वकप ग्लोबल छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई दुई सय १९ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमारत क्रिकेट ओभल २ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय १८ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले अविजित १०४, दिपेन्द्रसिंह ऐरीले ८३, र कुशल मल्लले १२ रन बनाए ।
बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिए ।
रेकर्ड ब्रेक
तेस्रो विकेटका भुर्तेल र ऐरीले एक सय ७१ रनको साझेदारी गरे । उनीहरुले पारस खड्का र आरिफ शेखको रेकर्डलाई तोडेका छन् । यसअघि खड्का र शेखले सिंगापुरविरुद्व २०१९ मा १४५ रनको पार्टनरसिप गरेका थिए ।
कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।
योसँगै कुशल नेपालबाट टि२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्काको नाममा रहेको ४ अर्धशतकको कीर्तिमान तोडेका छन् ।
शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको थियो ।
फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ः
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।
ग्लोबल छनोट र तालिका
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
टि–२० विश्वकप छनोट तालिका
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)