पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन्।
उनले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गरी शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने बताएका छन्।
‘जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन। आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन,’ शाहले वक्तव्यमा भनेका छन्, ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतस्स्फूर्त एवम् लोक सम्मत हुन्छ र हुनुपर्छ।’
शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँचिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रब्यूहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न रहेको उल्लेख गरेका छन्।