काठमाडौं - एमसीसी टुंगो लगाउन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।
बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो । बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए । उक्त बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको बताइएको छ ।
यसअघि, बिहीबार बसेको गठबन्धन बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन सकिएको थियो ।
त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।