सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरू भएको छ ।
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बिहीबार अपराह्न ५ बजेपछि सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ढ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।
उक्त बैठकमा एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा छलफल हुनेछ । एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठकमा प्रयास हुनेछ ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद छ । त्यसकारण सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।
बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने तय थियो । तर, यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि एमसीसी शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने तयारी छ ।
एमसीसीको सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा विपक्षमा छन् ।
प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गर्न अडिग छन् भने सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।
त्यसकारण एमसीसीबारे सत्ता गठबन्धनबीच सहमति नभएमा आजको बैठक अन्तिम हुने पनि आशंका छ । माओवादी, नेकपा एस, जसपा, जनमोर्चाले सरकार छोड्ने सम्भावना रहेको बताइएको छ ।
बैठकअघि दौडधुप
बैठकअघि शीर्ष नेताहरू एमसीसीबारे छलफल गर्न दौपधुपमा रहे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझ नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता गरेका थिए ।
त्यसपछि बिहीबार बिहानै देउवाले प्रचण्डसँग भेट गरे भने प्रचण्ड पनि दिनभर छलफलमै व्यस्त भए ।