नेपाल–भारत सिमा अन्तर्गत भारतको बिहार राज्यमा मदिरा बेचबिखन तथा प्रयोगमा पुर्ण रुपले प्रतिबन्ध लगाईपछी नेपालबाट भारत तर्फ मदिरा तस्करीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ ।
यसरी सिमा वारिपारी गर्ने तस्करहरुको समेत बिगबिगि भईरहेको बेला भारतिय सिमाभित्र ३ हजार ३ सय बोतल मदिरा लिएर प्रवेश गरेका एक नेपाली नागरिकलाई मंगलवार राती भारतिय सिमा शुरक्षा बल (एसएसबी) का जवानले पक्राउ गरेका छन् ।
नेपालको धनुषा जिल्ला र बिहारको मधुवनी जिल्लाको हरलखी भन्ने नाकाबाट उक्त मात्रामा मदिरा तस्करी गर्न लागेका जटही गाउँका रामगुलाम यादवलाई एसएसबीले पक्राउ गरेको जनाएको छ ।
सिमा नाकाबाट मदिरा तस्किरी भईरहेको गोप्य सुचनाका आधारमा मंगलवार देरराती घेराबन्दी गरेर पिकअप भ्यानमा लोड गरिएको उक्त मात्राको मदिरा सहित यादवलाई पक्राउ गरिएको एसएसबीका एसएचओ अनोज कुमारले बताए । पिकअप ड्राईबर भने शुरक्षाकर्मिलाई देखेर फरार भएको कुमारले जनाए ।
बरामद गरिएको मदिरा र पिकअप गाडीसहित यादवलाई थप कारबाहीका लागि हार्लाखी प्रहरीमा बुझाइएको एसएचओ कुमारले जनाए ।
पक्राउ परेका यादवलाई अन्त: शुल्क निषेध ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक प्रक्रियाका लागि अदालत पठाइएको एसएचओ कुमारले जनाए ।