सशस्त्र प्रहरीले वीरगन्जबाट भारत तर्फ लागि रहेको अवस्थामा झन्डै चार किलो ग्राम अवैध लागु औषध चरेस बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका–वडा नम्बर १७ स्थित ईनर्वा गाउँदेखि भारततर्फ अहिर्वा गाउँ जाने कच्ची बाटो हुँदै गएको एक अपरिचित व्यक्तिको साथबाट ८ वटा प्याकेटमा रहेको ३ किलो ९ सय ग्राम चरेश बरामद गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ तरकारी बोक्ने झोला फाली फरार भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए।
बरामद गरिएको झोला चेकजाँचको क्रममा सो चरेश बरामद भएको र बरामद गरिएको चरेश थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पोखरेलले बताए ।
यस्तै ३ सय एम्पुल लागु औषध सहित भारतीय नागरिक पक्राउ परेका छन् । बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित सडक खण्डमा नियमित चेकजाँचको क्रममा खटिएको गस्ती टोलीले भारतको विहार मोतिहारी थाना रामगढवा १४ निवासी २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिए।
उनको साथबाट अवैध लागु औषध नुर्फिन, फेनार्गन र डाईजापामको १/१सय एम्पुल गरी ३ सय एम्पुल लागु औषध फेला परेको जनाएको छ ।