संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिएका छन्।
आज सोमवार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका छन् ।
मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिँदै भने, ‘पशुपतिनाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।’ पशुपति क्षेत्रमा फूलप्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित ठाउँमा सार्न र उनीहरूको समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे ।
फूलप्रसाद बिक्री गर्नका लागि पशुपति क्षेत्रमा ६५ वटा पसल निर्माण भएकाले केहीलाई तत्काल त्यहाँ सार्न तथा बाँकी अपुगका लागि नयाँ पसल निर्माण गर्नसमेत उनले निर्देशन दिए ।
यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेको क्रियापुत्री बस्ने भवनमा चौबीसै घण्टा पानी र बिजुलीको व्यवस्था गर्नसमेत निर्देशन दिए ।यसैबीच उनले हवाई टिकटमा राखिँदै आएका रक्सीका विज्ञापनलाई हटाएर अब नेपालका धार्मिक स्थल तथा पर्यटकीय स्थलका फोटो राख्न मातहतका निकायलाई निर्देशन दिए ।