नागरिकताको जन्ममिती विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन् ।
उमेर लुकाएर जागीर खाएको पुष्टि भएपछि सचिव धामीले सभामुख अर्जुनबहादुर थापालाई राजीनामा बुझाएका हुन् ।
सभामुखलाई बुझाएको राजीनामा आइतबार स्वीकृत भएको सभामुखको सचिवालयले जानकारी दिए । सचिव धामीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म राखेर नियुक्ति लिएका थिए ।
शैक्षिक प्रमाणपत्रमा २०१६/११/२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ। प्रदेशसभा सचिव नियुक्त हुने कानून प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक मिति रहेको भेट्टिएपछि उनी विवादित बनेका थिए ।