कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा शनिबार देखि बाघ गणना सुरु गरिएको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन् ।
त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षणमा जोड दिए । उनले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिए ।
मुलुकमा बाघ पाइने निकुञ्ज तथा वनलाई तीनवटा कम्प्लेक्समा विभाजन गरेर गत मङ्सिर १९ गते चितवनबाट गणना थालिएको बताए ।मुलुकको पर्यटन वन्यजन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बासस्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बासस्थान अतिक्रमणबाट जोगाउनेमा जोड दिइएको बताए ।
बाघ, गैँडा, हात्तीलगायतका महत्वपूर्ण वन्यजन्तुको विचरण तथा आनाबानीमा असर नपर्ने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने र सरोकारवालबीच समन्वयलाई प्रभावकारी बनाइने बताए । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य यस सर्वेक्षणले यकिन गर्ने बताए ।
बाघ संरक्षण कार्ययोजना तयार गरी बाघ संरक्षण एकीकृत एवं व्यवस्थित गरिँदै लगेको मन्त्री यादवको भनाइ थियो ।पर्यापयर्टनसित प्रत्यक्षरूपमा जोडिएको बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्री यादवले निर्देशन दिए ।
आफू वन मन्त्रालयको कार्यभार सम्हालेपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, नदीजन्य पदार्थको दोहनमाथि नियमन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत वन्यजन्तुको बासस्थान संरक्षण तथा व्यवस्थापनका कार्यमा जोड दिएको उनको भनाई थियो ।
त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए । उनले गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिनुका साथै ७० प्राविधिकसहितको कर्मचारी टोली परिचालित हुने बताए ।
शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने प्रमुख संरक्षण अधिकृत मेहताले बताए । राष्ट्रिय बाघ गणनाअन्तर्गत यहाँ हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसँगै वन मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेललगायतका व्यक्तिको सहभागिता थियो ।