भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ ।
१४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरी माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्मका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
दार्चुलामा नेपाल–भारत जोड्ने खलंगा, लाली, जोलजिवि, दत्तु, तिग्रम र सीतापुल गरी ६ वटा सीमापुलसहित दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । सीमापुलहरु दैनिक विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत–जावतका लागि खुला गर्ने गरिएको छ ।
निर्वाचनको समयमा ११ फेब्रुअरीदेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ । दुबै देशमा निर्वाचनको समयमा सीमा क्षेत्रमा निगरानी गर्ने, शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने गरिएको छ ।
सीमानाका बन्द हुँदा दैनिक आवतजावत गर्ने स्थानीय, उपभोक्ता, व्यापारी र मजदुरहरु समस्यामा परेको बताएका छन् ।