प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल भएको जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालसँग कुराकानी गरेको बताइएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेका हुन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा हारेपछि तत्कालीन रक्षामन्त्री डा। मीनेन्द्र रिजालले गत पुस १ गते पदबाट राजीनामा दिएका थिए । साथै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि तत्कालीन उद्योगमन्त्री गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिएका थिए ।
उक्त मन्त्रालय हाल रिक्त छन् ।ती खाली मन्त्रालयमा एक दुई दिनभित्रै नियुक्तिको तयारी छ ।
उक्त भेटमा प्रचण्ड र नेपालले दुई गते हुने भनिएको संसद अधिवेशनमा प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित हुन नसक्ने भएकाले फागुन ४ गते राख्न सुझाव दिए । यसअघि एमालेले फागुन २ गतेको बैठक सार्न आग्रह गरेको थियो ।
उनीहरुबीच एमसीसी, संसद अवरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।