आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघिको सिरिजमा नेपाल र युएईबीचको खेल सुरू भएको छ ।
नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निणय गरेको छ ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको छ । अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् ।
शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ ।
लोकेशको डेब्यू
आजको खेलमा नेपालका युवा आक्रामण ब्याट्सम्यान लोकेश बमले डेब्यू गरेका छन् । उनलाई सिनियर खेलाडी शरद भेषवाकरले डेब्यु क्याप हस्तान्तरण गरेका छन ।
केही साता अगाडि काठमाडौंमा भएको प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लवबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण उनी पहिलो पटक सिनियर टिममा स्थान बनाएका थिए । पीएम कपमा लोकेशले आर्मीविरुद्ध विस्फोटक पारी खेलेका थिए । जसमा उनले १८ बलमा ६६ रन बनाएका थिए ।
सिरिजको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
प्रत्यक्ष प्रसारणः
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।
ग्लोबल छनोट र तालिका
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
टि–२० विश्वकप छनोट तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)