गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नपर्ने बताएका छन् ।
पोखरा महानगरपालिकाको १०औँ सभाको आज उद्घाटन कार्यक्रममा उनले भने, “गण्डकी प्रदेश हरेक सूचाकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा हामी पछाडि छौँ । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँ नेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।” पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्रको रुपमा विकास अघि बढेको मुख्यमन्त्री दाबी छ ।
पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्र मात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्ने गरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारले सङ्घ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।
“सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि वृहत पोखराको परिकल्पना गरिएको हो”, मुख्यमन्त्री पोखरेलले भने, “स्थानीय तहका पाँच वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैँलाई समीक्षा गर्नुपर्ने बेला भएको छ ।”
पोखराले पाँच वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरूको बसाइ अवधि लम्ब्याउँदै र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताए ।