ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । माघ ८ शनिबार राति चोरी भएको बालकुमारीको मूर्ति बिहीबार राति फेला परेको हो ।
प्रहरी परिसर ललितपुरका एसपी यज्ञबिनोद पोखरेलले हत्तीबन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अबस्थामा सो मूर्ति फेला परेको जानकारी दिए ।
बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो । हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा बालकुमारी देवीको जात्रा गरिन्छ । चोरी भएको उक्त मूर्ति २५० देखि ३०० वर्ष पुरानो भएको अनुमान छ ।