वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद जेठ ५ गते सकिने भएकाले बैशाख ३० मा निर्वाचनको मिति तोकेको हो । निर्वाचन आयोगले सरकारलाई जेठ ४ गते निर्वाचनको मिति सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कार्कीले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताए ।
सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए ।
प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनावलगायत विषयमा छलफल गरेका थिए ।