नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले प्रचण्डले एमसीसीलाई लेखेको पत्रबारे प्रष्टिकरण गरेको छ ।
आइतवार साँझ प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दवाव भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि सो पत्र लेखिएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ,'२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसी का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवस्यक पर्ने कुरा उल्लेख गरिएको हो।'