प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ता सकिएको छ ।
उनीहरूबीच आइतबार दिउँसो ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरू भएको थियो । उनहरूबीच करिब २ घण्टा छलफल भयो । उक्त छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।
भेटवार्तामा संसद अवरोध अन्त्य, एमसीसी, स्थानीय तह निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा सहभागी एमाले महासचिव पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने, प्रचण्डले चुनावपछि एमसीसी पास गर्नुपर्ने अडान राखेका थिए । तर, एमसीसीबारे पहिला सत्ता गठबन्धनले स्पष्ट अडान राख्नुपर्ने एमालेले राखेको उनले बताए ।
एमालेले बैठकमा माधव नेपालसहित १४ सांसदलाई कारवाही गरे मात्रै संसद अवरोध रोक्ने बताएको उनले बताए ।
स्थानीय तह निर्वाचन समयमै गर्नुपर्ने, २४ लाख कोरोना खोप हराएको विषयमा छानविन गर्नुपर्नेलगायतका कुरा अघि सारेको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी थिएनन् ।