महंगो शुल्क लिएर वैदेशिक रोजगारीमा जानेका लागि नक्कली पीसीआर रिपोर्ट बनाउने ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी रहेका छन् ।
धनुषाको विदेह नगरपालिका—४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान, छिरेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौंको गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल गाउँपालिका–५ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका–७ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २४ वर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।
रौतहटको राजदेवी न.गरपालिका–४ बसतपुर घर भई हाल भक्तपुरको दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र काठमाडौंको पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. का पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
फरार रहेका दुबै ल्याबका सञ्चालक मिश्र र गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । हाल दुबै अस्पतालका पीसीआर ल्याब बन्द गरिएको र थप अनुसन्धान भइरहेको छ ।
ती ल्याबहरुले स्वाब र परीक्षण बिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको, केही बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनेर सामुहिक स्वाब संकलन गर्न प्रयोग गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैंले आफ्नै स्वाव संकलन गरि विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।
बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेभेटिभ बनाइदिने भन्दै प्रति व्यक्ति१० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।