राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् ।
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदाता मैत्री बनाउन उनले सुझाव दिइन् ।
आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गर्दै शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानूनमा तोकिएको समय सीमा भित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरूरी भएकोले आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनु पर्नेमा राष्ट्रपतिले जोड दिइन् ।
स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास राष्ट्रपति भण्डारीको थियो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।
आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् ।