गत माघ ९ गते ६ लेन सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ सडकखण्डको टिकौली जंगलको नालीमा फसेर गैंडा मरेको घटनाको निष्पक्ष छानबीन गरेर दोषीमाथि कारबाही गर्न चितवनका सात वन उपभोक्ता समूहले माग गरेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुर र ठेकेदार कम्पनीको चरम लापरवाहीले १२ वर्षको वयस्क भाले गैंडा अकालमा मरेको भन्दै वन समूहले समूहले संरक्षणकर्मीहरुलाई यस घटनाले मर्माहत तुल्याएको जनाएका छन् ।
रत्ननगर र खैरहनी नगर क्षेत्रका वन उपभोक्ताहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सडक निर्माणमा गम्भीर त्रुटि र लापरवाहीका कारणले दुःखद घटना भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘जैविकमार्ग जस्तो संवेदनशील क्षेत्रलाई जोडेर ढल निर्माण कार्य गर्नु तथा काम सम्पन्न पूरा भएको अवस्थामा खाडल नपुरीकन छाड्नु सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको गम्भीर लापरवाही हो ।’
सो क्षेत्रमा निर्माण भइरहेको सडकको डिजाइनलाई परिवर्तन गरी वन्यजन्तु आवतजावतका लागि अण्डर पास र सवारी साधानका लागि ओभर पास बनाउन उनीहरुले माग गरेका छन् ।
