नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन्।
शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारहरुले राखेका जिज्ञासामा उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निरवाचनहरु समयमै हुनुपर्ने बताएका हुन् ।
संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिएका छन् ।
संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।
झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।
१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए।