गुणस्तरहीन महको उत्पादन एवं बिक्री वितरण गरेको आरोपमा बिहीबार एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका–६ घर भई हाल काठमाडौं–२७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भनिने नर बहादुर श्रेष्ठ रहेका छन् ।
उनलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० केजी) तयारी तथा कच्चा महसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
श्रेष्ठले विगत ७ बर्षदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको, स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको अनुसन्धानबाट खुलेको छ ।

उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. ६ सय ५० रुपैयाँमा मा बिक्री बितरण गर्दै आएको प्रहरीले जनाएको छ ।
गुणस्तरहिन मह बनाउनको लागि श्रेष्ठले ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
उक्त स्पर्स हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा परिक्षण गर्दा तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलेको छ ।
श्रेष्ठले गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेका थिए ।
प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि उनलाई शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।