प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशसभामा आज भएको प्रदेशको नाम सम्बन्धी मतदानमा प्रदेश २ को नाम दुईतिहाई बहुमतले ‘मधेश प्रदेश’ कायम भएको हो ।
प्रदेशसभा सदस्य शलेन्द्र कुमार यादव र भरत साहले संयुक्त रुपमा प्रस्ताव गरेको मधेश प्रदेशको लागि भएको मतदानको पक्षमा ८० मत परेको हो ।
मधेश प्रदेशको पक्षमा परेको ८० मत उपस्थित सदस्यको दुईतिहाई संख्या भएकोले त्यसलाई पास भएको घोषणा सभामुख सरोज यादवले गरेका हुन् ।
हाल कायम रहेको प्रदेसभाका १ सय ४ सदस्यमध्ये उपस्थित ९९ सांसदले निर्वाचनमा भाग लिएका थिए ।
प्रदेशसभामा नामका लागि अन्य प्रस्तावमा मतदान हुने भएता पनि पहिलो प्रस्ताव नै पास भएपछि अन्य प्रस्तावहरु खारेज गरिएको सभामुख यादवले जनाए ।
यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिसकेको छ ।