सरकारले कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश अनुमोदन गर्दै लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको हो।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आदेश अनुसार सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने भएका छन्।
त्यस्तै विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउनु पर्ने भएको छ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ।
धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्न पाइने भएको छ।