कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो ।
विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनीयर श्रेष्ठले बताए ।
विमानस्थलको लम्बाइ एक हजार २५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिदै इञ्जिनीयर श्रेष्ठले चौडाइमा भने अलिकति कम हुन्छ कि जस्तो भए पनि टुइनेटर जहाजका लागि भने कुनै समस्या नहुने बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाइसेवा सशस्त्र द्वन्द्वका बेला बन्द भएको थियो । त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दल र सरोकारवालाको समन्वयमा खाली गराएर पुनःविमान सञ्चालनको प्रयास भए पनि सफल नहुँदा अहिले विमानस्थल गाइबस्तु चराउने थलो बनेको छ ।
विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनका लागि एक सुत्रीय मागसहित टीकापुर महोत्सव गरेको थियो । वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले विमानस्थल सञ्चालनमा आए व्यापारिक दृष्टिकोणले धेरै राम्रो हुने बताए ।
“उद्योग, कलकारखानाका लागि हामीसँग थुपै सम्भावना छन् । त्यसैमा पनि राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका कारणले झनै सम्भावना बढेको छ”, उनले भने, “त्यसका लागि विमानस्थल महत्वपूर्ण हो । विमानस्थल सञ्चालनमा आउनसके मात्रै उद्योगीलाई भित्र्याउन सकिन्छ ।”