नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ। पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै ग्राहकमाझ लोकप्रियता कमायो। गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्तिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो।
आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिना अघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। टिगोर ईभीले पनि छोटो समयमै राम्रो बजार पायो । झन्डै तीनमहिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकेको छ ।
नेपाली बजारमा पनि टिगोर ईभी छिट्टै भित्रने अनुमान छ । यदि यसो भयो भने नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंकपाएको छ ।