प्रदेश-१ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री अध्यक्ष हुने गरी समिति बनाउने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
समितिको सदस्यहरूमा विराटनगर महानगरपालिकाका प्रमुख, प्रदेश-१ का प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने सचिव, मोरङका प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र जनपद प्रहरीतर्फका प्रदेश प्रमुखहरू रहनेछन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत शासकीय सुधार तथा समन्वय शाखाका सचिव उक्त समितिको सदस्य सचिव रहने गरी समिति गटन गरिएको मन्त्री आङ्बोले जानकारी दिए ।
त्यस्तै, बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयका तर्फबाट प्रस्तुत आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष ०७९/०८० का लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजनारकार्यक्रमको सूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।