पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन्।
उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन्।
‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण नै यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं,’ सन्देशमा पूर्वराजा शाहले भनेका छन्।
राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उनले प्रस्ट पारेका छन्। ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ सन्देशमा उनले भनेका छन्।
प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ। ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन्। उनले आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका जनता सबै एक बन्न पनि आह्वान गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिँगारौँ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो।’