सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका युवाहरुको आवश्यक्ता रहेको बताएका छन्।
महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका युवाहरु चाहिएको बताए ।
विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए ।
महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए।
महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५/३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ । धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं । जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु। हाम्रो तन्नेरीहरुसँग जोस छ । जोस सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रबलम’ देखाउने मानिस होइन, सोलुसन खोज्ने मानिस चाहिएको छ । ‘प्रबलम’ जसले पनि देखाउन सक्छ । ‘प्रबलम’ देखाउने बहादुर होइन् सोलुसन खोज्ने मानिस बहादुर हो ।’
महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पारे ।