सिराहा जिल्लाको प्रहरी प्रमुख रहँदा नेपाली काँग्रेसका जिल्ला सभापतिलाई गोलि मार्न
उनको घरसम्म पुगेका प्रहरी उपरिक्षक (एसपी) हिरा बहादुर पाण्डेलाई नेपाल प्रहरीले निलम्बित गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले दिएको जानकारी अनुसार एसपी पाण्डेले संगठनको गरिमा बिरुद्धको कार्य गरेको उनलाई तत्काल तिन महिनाका लागि निलम्बित गरिएको हो ।
सिराहामा एक मुद्दाको विषयमा एसपी पाण्डे र कााग्रेस जिल्ला सभापती रामचन्द्र यादवबीच केही साताअघि विवाद भएको थियो ।
विवादपछि यादवले गृहमन्त्री आफ्नै पार्टीको भएकोले एसपी पाण्डेको सरुवा गराउने धम्की दिएका थिए । यादवले धम्की दिएको केही समयमै पाण्डेको सरुवा भएको थियो ।
यादवले आफ्नो सरुवा गराएको रिसमा एसपी पाण्डेले उनलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सरुवा भएपछि आक्रोशित एसपी पाण्डेले यादवको घरमै पुगेर ज्यान मार्ने धम्की दिएको आरोप यादवले लगाएका छन् ।
रक्सि खाएर पेस्तोल सहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले फर्काएका थिए ।
घटना पश्चात नेपाली कांग्रेस सिराहा जिल्ला कमिटिले एसपी पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शन समेत गरेको थियो ।
मुद्दा गरमाएपछी प्रहरी प्रधान कार्यालयले केहिदिनअघी पाण्डेलाई प्रधान कार्यालयमा तानेको थियो ।