सुर्खेतकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका(१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, वडा-११ का २४ वर्षीय चन्द्र साउद, २६ वर्षीय हस्त नेपाली रहेका छन् ।
यस्तै, छायाँनाथ रारा-६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका(१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन् ।
सुर्खेतबाट काम खोज्दै बनेपाका लागि हिँडेकी महिला गत सोमबार राति बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले जानकारी दिए ।
उनका अनुसार नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए । सुरुमा एक्लै होटल पुर्याएका ती युवकले पछि अन्य ८ जना साथीहरुलाई पनि बोलाएको प्रहरीले जनाएको छ ।
पीडित महिला होटलबाट भागेर मंगलबार दिउँसो बसपार्क नजिकैको प्रहरी बिटमा घटनाबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो ।