सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ ।
प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।
गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे निषेधाज्ञा आज ७ बजेसम्मका लागि थियाे ।
पीडित पक्षसँग मृतकलाई १० लाख रुपैयाँ दिने गरी ६ बुँदे सहमति भए पनि पीडित पक्षले शव बुझ्न आनाकानी गरेकाले शान्ति, सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए ।
याे घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताइएको छ ।
समितिमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवार, प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी इकाइ कार्यालय धनुषाका प्रहरी हवलदार प्रमोदकुमार साह सदस्य रहेका छन् । समितिले स्थलगत विवरण एक हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ ।