राष्ट्रियसभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालय कैलालीमा आज सुदूरपश्चिम प्रदेश निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
राष्ट्रियसभा सदस्य पदका लागि आगामी माघ १२ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरिसकेको छ । निर्वाचन अधिकृत एवं कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश जयानन्द पनेरुले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने काममा सहयोग पु¥याउन सबैलाई आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुने तारादेवी भट्ट, शेरबहादुर कुँवर र चक्र स्नेहीको पदावधि सकिन लागेको बताइएको छ । यो प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको मतदान केन्द्र धनगढीमा तोकिएको छ ।
प्रदेशमा यो निर्वाचनका लागि प्रदेशसभा सदस्य ५२ र स्थानीय पालिका प्रमुख /उपप्रमुख १७५ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ ।
निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले अयोगले पुस १७ गते मतदाता नामावली प्रकाशन, १९ गते प्रकाशित नामावलीउपर उजुरी, छानबिन र कारबाही, २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा उम्मेदवारको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको जानकारी दिए ।
प्रकाशित कार्यतालिकानुसार पुस २३ गते उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारी फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने र माघ १२ गते तोकिएको मतदान केन्द्रमा मतदान हुनेछ ।