काठमाडौं जिल्ला अदालतले सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराम तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार तामाङ र श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
इजलासले बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ भने संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानका आधारमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर गरिएको थियो । साथै, निक्षेपकर्ताहरुको रकम हिनामिना गरेको भन्दै सीआइबीले अध्यक्ष तामाङसहित ४२ जनासँग ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा माग दाबी गरिएको थियो ।
गत असोज १९ गते सीआईबीले तामाङसहित १२ जनालाई ठगी मुद्दामा पक्राउ गरेको थियो ।