यातायात व्यवस्था विभागले मोटरसाइकल (दुई पाङ्ग्रे सवारी) को पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने तयारी गरेको छ।
विभागले अहिले पनि लागु भइरहेको र अब कडा गरी अनिवार्य गर्ने तयारी भइरहेको जनाएको छ। पछाडि बस्ने यात्रु सुरक्षाको लागि ऐनमै अनिवार्य गर्न गरी कडाइका साथ कार्यान्वयनमा ल्याइने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।
यसका लागि विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०७७ को ड्राफ्ट तयार पारी राय, सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ। प्रवक्ता भुसाल भन्छन्, ‘‘पछाडि बस्ने यात्रुले हेल्मेट लगाउने नियम अहिले पनि लागु भएकै छ। अब यसैलाई कडा रूपमा कार्यान्वयन गरिनेछ। अहिले अनिवार्य गरिने ऐन प्रक्रियामा छ।
यो प्रक्रिया पूरा भएपछि कुरा गर्छु।” विभागले मन्त्रालय पठाएको ऐनमा मोटर साइकल (दुई पाङ्ग्रे सवारी) चलाउँदा पछाडि बसेर यात्रा गर्ने यात्रुको ज्यान जाने खतरा भएकाले हेल्मेट लगाउनुपर्ने भनी उल्लेख गरिएको छ।
यही ऐनलाई संसोधन गरी अनिवार्य गर्न लागिएको विभागले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६५ सालमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गर्दा चौतर्फी आलोचना भएको थियो।अहिले पनि हेल्मेट व्यापारीले विभागलाई रुपैयाँ खुवाएर यस्तो नियम अनिवार्य गर्न लागिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।