मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकीदार र नाइकेविरुद्ध आन्दोलित भएका छन् । उनीहरुले आज मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आन्दोलन गरेका हुन् ।
त्यसअघि चौकीदार समूह र अन्य कैदीबन्दीबीच विवाद हुँदा केहीबेर झडप भएको थियो । झडपमाा परी चौकीदार गुरुङसहित उनका समूहका ६ जना नाइके र भाइनाइकेहरु घाइते भएको कारागार प्रशासनले जानकारी दिएको छ ।
कारागारभित्र चौकीदार किरण गुरुङले अनावश्यकरुपमा कैदीबन्दीहरुलाई यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम बढ्दै गएपछि विरोध गर्नुपरेको कैदीबन्दीहरुले बताएका छन् ।
काराागारभित्र दुई पक्षबीच दोहोरो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइतेहरु सबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको छ ।
कारागार प्रशासनले चौकीदारसहित १४ जना नाइके र भाइनाइकेलाई कारागारभित्र पठाउने अवस्था नरहेकोले अन्यत्र सरुवा गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।