रुपन्देहीमा एक महिलाले जन्माएका चारजना शिशु मध्ये दुई जनाको मृत्यु भएको छ ।
एकको शनिबार र अर्कीको आइतबार मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । अस्पतालका अनुसार समय अगावै जन्मिएको, तौल कम भएको र प्रतिरोधात्मक क्षमता नभएकाले शिशुहरुको मृत्यु भएको हो ।
पाल्पाको माथागढी गाउंपालिका–१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले चार छोरीलाई जन्म दिएकी थिइन् । आर्थिक स्थिति कमजोर रहेकी सीताका छोरीहरुको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसी नेतृत्वको टोलीले शल्यक्रियामार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल एकहजार एकसय ग्राम, दोस्रोको एकहजार ११५ ग्राम, तेस्रोको एक हजार ६० ग्राम र चौथोको एकहजार १३० ग्राम थियो ।
हाल आमा सामान्य वार्डमा र दुई शिशुहरूलाई एनआईसीयूमा राखेर उपचार गरिएको छ ।