नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्र्याएको छ ।
रिजोन मोटर्सले जोङसेन ब्रान्डको आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
मूल्य ?
आरएक्स–३ मोटरसाइकलको ६ लाख १९ हजार, जेड–वान मोटरसाइकलको २ लाख ७९ हजार र जेडटी–६ स्कुटरको २ लाख ३९ हजार मूल्य रहेको रिजोन मोटर्सले जनाएको छ ।
विशेषता ?
जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।
एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।
यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।
जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।
जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।
मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतका अनुसार मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइने छ भने मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिइनेछ ।
उनले नेपालमै पहिलो पटक ७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिने बताए ।
जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ ।
दोस्रो सोरुम सुर्खेतमा तिहार अगाडि नै खुल्ने छ भने तिहारपछि विर्तामोड, धरान, दमक र पोखरालगायतका स्थानमा खोलिनेछ ।