एअरलाइन्सले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टर बढाउँदै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।
कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ ।एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडा दर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइँमा परेको दावी गरे ।
यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत् सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहर ल्याइसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुईलाख ७२ हजार ६०० वटा बिरुवा वृक्षरोपण गरिसकेको छ । हवाई र पर्यटनमा मात्र नभइ क्रिकेट, फुटबल र गल्फलगायतका खेलकूदका क्षेत्रमा पनि योगदान रहेको जनाइएको छ ।
आगामी वर्षमा वायुयानको सङ्ख्या थपेर नयाँ गन्तव्यमा उडान विस्तार तथा बजार हिस्सा बढाउने कम्पनीको योजना छ । थप रोजगारी सिर्जना गर्ने, चार्टर उडानमार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधि प्रयोगमा ल्याई सेवा परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुलाई प्रत्यक्ष लाभ हुने सहुलियतका कार्यक्रम ल्याउने तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।
यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।