महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
बुधबार आयोग पुगेर प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेका हुन् । निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएका छन् ।
योसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।
प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।
सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानूनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएको समयमै उपस्थिति भएर सनाखत गरेको जानकारी दिए । उनले दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रुपमा अघि बढाउने जानकारी दिए ।
सनाखत गर्ने १४ सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह