बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।
बुधबार दिउँसो बसेको प्रदेश सभाको विशेष अधिवेशनमा नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् । बैठक एमालेका सांसद उपस्थित भएनन् ।
कनौडियाले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । उक्त विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावबारे छलफल गरेर मतदान गर्ने कार्यसूची थियो । तर, अल्पमतमा रहेका पोखरेलले बैठक नबस्दै प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका थिए ।
सम्बन्धित समाचारः लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
आजै दिउँसो पौने ३ बजे बस्ने गरि अहिले प्रदेश सभाको बैठक स्थगित भएको छ । सो बैठकमा मुख्यमन्त्रीले जवाफ दिने र त्यसपछि अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची छ ।
गत हप्ताको सोमबार विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।