केन्द्रको निर्देशनको पालना नगर्ने सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीमाथी नेकपा एमालेले कारबाहीको प्रकृया शुरु गरेको छ। पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए।
‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ। उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ’, थापाले भने, ‘चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही हुन्छ।’
सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।
‘पत्र पठाउने प्रक्रिया भइरहेको छ आजै उनीहरुको हातमा पुग्छ,’ अध्यक्ष थापाको भनाइ छ। एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो।